विशेष रुपान्तरण अभियान अन्तरगत माओवादीले अछामका २० हजारबढी जनतासँग गर्यो प्रत्यक्ष भेटघाट

अछाम । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत अछाममा २० हजारबढी स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरेको छ । भदौ १६ गतेदेखि देशभर एकसाथ सुरु भएको माओवादी रुपान्तरण अभियानमा हालसम्म करिव २० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट गरेको हो ।

जिल्लाका सबै पालिकामा सदस्यता नवीकरण , वितरण, प्रशिक्षण , जनभेटघाट र अन्तरक्रियाहरु सम्पन्न भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज ओमप्रकाश पुनले जानकारी दिए । प्राय सबै पालिकामा सहिद परिवार भेटघाट र बुद्धिजीवी तथा अन्य राजनीतिक र प्रशासनिक भेटघाट,वडा,पालिका,जिल्लाको आवाधिक समिक्षा पनि सम्पन्न भएको उनले बताए ।

अभियान अन्तरगत अहिलेसम्म ५० प्रतिशत सदस्यता नवीकरण भएको र १० प्रतिशत नयाँ सदस्यता वितरण भएको छ । इन्चार्ज पुनले भने ‘अभियान प्रशिक्षणात्मक, प्रचारात्मक र अन्तरक्रियात्मक बढी भएको छ ,सबै पालिका र सबै वडामा बैठक प्रशिक्षण सम्पन्न भएका छन्,विभिन्न जनवर्गीय संगठनका कमिटी निर्माण भएका छन्’ । अभियानको क्रममा जनतामा पार्टी प्रति केही निरासता बढेको देखिएको र अभियानले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ हुँदै गएको इन्चार्ज पुनको भनाइ छ ।

‘पार्टी बिग्रियो, नेताहरु बिग्रिए, नेता कार्यकर्ता जनतामा आउँदैनन्, योजनामा भ्रष्टाचार गर्छन् भन्ने जनताको प्रतिक्रिया पाइयो’ उनले भने ‘खाएको लिएको पैसा तिरेका छैनन् , पार्टी र नेताले जनता बिर्सिए, पार्टी यहीँ हो र गरे यसैले गर्छ तर नेता कार्यकर्ताको व्यवहारले हामी निराश छौँ भन्ने जनताको गुनासो छ ।

‘हामी कहिँ गएका छैनौं , नेताहरु ठेकेदार जस्ता भए, अब गठबन्धन हैन पार्टी एक्लै चुनाव लड्नु पर्छ । बिकास र सुशासनमा जोड गर्नु पर्यो, जनताका माग र कुरा सुन्नु पर्यो भन्ने जनताको भनाइ पाइयो’ उनले भने ।

उनले भने ‘माओवादी बिग्रेका कारण समस्या आयो,यो पार्टी पनि अरु जस्तै देखिन थाल्यो, गरिव निमुखा, सहिद परिवार र घाइते छोडर पार्टी धनी,हुनेखानेका पछि लाग्यो,अब पार्टीले जनता नछोडोस, जनताका कुरा सुनोस, जनताको भरोशा गरोस र जनतातिर फर्कियोस् भन्ने जनताको सुझाव आउनले गरेको छ’ । अभियानले समग्ररुपमा जनतामा उत्साह बढाएको इन्चार्ज पुनको भनाइ छ ।

त्यस्तै सहिद परिवार र घाइतेको पार्टीमा हाम्रो रगतको अवमूल्यन नहोस र नगरोस, हामीलाई पार्टीले अभिभावक बिहिन नबनाओस् भन्ने गुनासो रहेको इन्चार्ज पुनले बताए ।

अभियानको क्रममा माओवादी केन्द्रले जनश्रमदानलाई पनि प्राथमिता दिएको छ । जिल्लास्थित विभिन्न संघसंस्था,वजार,पर्यटकीय क्षेत्रमा सरसफाई गर्ने कार्य गरेको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै सोही क्रममा जनसेवा अन्तरगत मंगलसेन नगरपालिका–१०, जुपु सिलावाडामा दलित बस्तीमा ७० बर्षिया एकल दलित महिला डिक्रा नेपाली नागरीको भत्किएको घरमा पार्टीको आफ्नै पहलमा १५ हजारको टिन लगाउने काम गरेको जनाइएको छ ।

अछाममा ६ जना केन्द्रीय प्रतिनिधिको नेतृत्वमा ६ कमाण्ड र दस उपकमाण्ड अभियानमा खटिएको जनाइएको छ । एक नम्बर कमाण्डमा केन्द्रीय सदस्य जंग बिक, दुई नम्बरमा केन्द्रीय सदस्य मीन बहादुर कुँवर, तीन नम्बरमा केन्द्रीय सल्लाहकार सिद्धराज भाट, चार नम्बरमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुन, पाँच नम्बर कमाण्डमा केन्द्रीय सदस्य कुन्ती जोशी र छ नम्बर कमाण्डमा प्रदेश सहसचिव प्रकाश नेपाली इन्चार्जको रुपमा खटिएको नेता पुनले जानकारी दिएका छन् ।

यो अभियानले माओवादी पार्टीलाई पार्टी निष्ठता, सिद्धान्त निष्ठता र क्रान्ति निष्ठता सहित एकताको विकल्प छैन, रुपान्तरणको विकल्प छैन र क्रान्तिको विकल्प छैन भन्ने निष्कर्षमा पु¥याउने पुनको भनाइ छ ।

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको थियो । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाएको थियो । माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार