ईजरायलमा मारिएका चार जनाको शव धनगढीमा आफन्तलाई बुझाइयो


कैलाली । इजरायल आक्रमणमा मृत्यु भएका दश नेपाली विधार्थीमध्ये चार जनाको शव आफन्तलाई बुझाइएको छ । प्यालेष्टाईनी आतंककारी समुह हमासको आक्रमणमा परी ईजरायलमा मारिएका चार जनाको शव आज कैलालीको धनगढीमा आफन्तलाई बुझाईएको हो। आज बिहान इजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याइएका चार वटा शवहरुलाई सेनाको हेलिकोप्टरमार्फत साँझ धनगढी पुर्‍याएर परिवारलाई बुझाइएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

धनगढीमा बुझाइएका शवहरुमा कैलालीको जोशीपुर ५ का आशिष चौधरी, कैलालीकै घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकम ५ का दीपेशराज बिष्ट रहेको मन्त्रालयले जनाएको छ ।

आवश्यक समन्वय गरी शवहरु आफन्तलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

काठमाडौंबाट सेनाको हेलिकोप्टरमार्फत शवहरुलाई लिएर ईजरायली राजदुत हनान गोडेर, प्रधानमन्त्री कार्यालयका उपसचिव सावित्री कुमारी अधिकारी र परराष्ट्र मन्त्रालयका प्रतिनिधि प्रविन भट्टराई सहितको टोली धनगढी पुगेको थियो ।

गत असोज २० गते हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ७ जना सुदूरपश्चिमका थिए। जसमध्ये चार जनाको शव ल्याइएको हो भने अन्य ३ वटा शवहरु ल्याउने प्रकृयामा रहेको सरकारले जनाएको छ ।

हमासको आक्रमणमा मृत्यु हुनेहरु सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीको टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु हुन् । उनिहरु नेपाल र इजरायल सरकारबीच भएको सम्झौताअनुसार ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत भदौ २५ र २६ गते इजरायल गएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार