कैलाली । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमले देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको बताएका छन्। कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमले ६ सय शय्याको शिक्षण अस्पतालसहित देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको बताएका हुन् ।
‘गेटा चिकित्सा विज्ञान विश्वविद्यालय बन्ला कि नबन्ला भन्ने आशंका अब कसैले नगर्नु होला । विश्वविद्यालयभित्र ६ सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशले चिकित्सा विज्ञान विश्वविद्यालय पाउने शौभाग्य प्राप्त गर्दैछ’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले त्यसका लागि विधेयक तयार भएर छलफल भइरहेको बताए । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक अहिले राष्ट्रिय सभामा छलफलका क्रममा रहेको समेत उनले बताए ।
प्रचण्डले आगामी क्याबिनेटको बैठकबाट धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने बताए । यस्तै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाहबारे पनि भारतसँग ठोस सहमति भइसकेकाले आवश्यक कार्यहरु अघि बढिरहेको बताए ।
सरकारको नेतृत्व गरे लगत्तै कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आफुले प्राथमिकतामा राखेको बताएका प्रचण्डले धनगढी पुगेर पनि सुदूरपश्चिम आफ्नो प्राथमिकतामा रहेको दोहोर्याए।
उनले एसियाली विकास बैंकको आर्थिक सहयोगमा कर्णाली–चिसापानी १० हजार मेघावाट विद्युत् निर्माण आयोजनाको प्रक्रिया पनि अघि बढाइएको बताए । प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर परियोजना अघि बढाउने सहमति भइसकेको र अब केही दिनभित्र डीपीआरको घोषणा हुने पनि बताए ।