
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पपटक विश्वासको मत लिने भएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले वैशाख ३१ मा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यहि जेठ ७ गते विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बिषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पठाएर प्रतिनिधि सभाको जेठ ७ गते को बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन आग्रह गरिएको सचिवालयले जनाएको छ ।
२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक विश्वासको मत पुस २६ गते लिएका थिए भने चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।
पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका थिए भने दोस्रोपटक १७२ सांसदको विश्वासको मत पाएका थिए ।
यसअघि गठबन्धन टुटेर कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिंदा १५७ सांसदको समर्थन पाएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । सत्ता गठबन्धनमा रहेका प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको ३२, नेकपा एमालेको ७८, रास्वपाको २१, एकीकृत समाजवादीको १०, अशोक राई नेतृत्वको जसपा नेपालको ७ सांसदहरु जोड्दा १४८ सांसदको सर्मथन रहेको छ । प्रचण्डलाई अन्य साना दलहरुले पनि सर्मथन गरेका छन् ।












