
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले बिधार्थी नेता कमलराज जोशी पक्राउ परेका छन् ।
उनलाई आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । माघ २४ गते साँझ ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका स्थायी समिति सदस्य जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले बताए ।
कुटपिटबाट डिउटीमा खटिएका प्रहरीका जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई एमाले बिधार्थी नेताहरुले कुट्दा गम्भिर घाइते भएका थिए।

आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए भने प्रहरीले आज जोशीलाई पक्राउ गरेको हो । सत्ताको आडमा कुटपिटमा संलग्न जोशीलाई पक्राउ नगरिएको भन्दै चर्को आलोचना भएपछि प्रहरी उनलाई पक्राउ गर्न वाध्य भएको हो ।
कुटपिटमा संलग्न अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपाल बहादुर शाही, क्याम्पस कमिटी सदस्य नविन ऐर र शौजन्य शाही भने अझै फरार छन् ।
उनिहरुको समुहले डिउटीमा खटिएका प्रहरीलाई कुटपिटको सीसीटिभीको भिडियो भाइरल भएको थियो । सोहि भिडियोका आधारमा प्रहरीले संलग्नहरुलाई पक्राउ गरेको छ ।
जोशीको अपराध यात्रा

बझाङको दुर्गाथली गाउँपालिका–४ स्थायी घर भएका २९ वर्षीय जोशीको अपराध यात्रा ज्यान मार्ने उद्योगसम्मको देखिन्छ ।
प्रहरी रेकर्डमा जोशीमाथि ज्यान मार्ने उद्योगसम्मको मुद्धा लागेको देखिन्छ । उनिविरुद्ध २०७९ सालमा दुई वटा फौजदारी कसुरमा मुद्दा चलेको प्रहरी रेकर्डमा छ। प्रहरीको सीआरएस रिपोर्टअनुसार जोशीको फौजदारी अपराध यात्रा कीर्ते तथा लिखतसम्बन्धी कसुरबाट सुरु भई ज्यान मार्ने उद्योगसम्म रहेको प्रहरीले जनाएको छ ।











