
काठमाडौं । कोरियाबाट फर्केका नेपाली युवाहरूलाई कोरियाली खाने तयार गर्ने तालिम प्रदान गरिएको छ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइका र कोरियाली मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले रोजगारीका लागि कोरिया पुगेर फर्केका ७ पुरूष र ८ महिला गरी कुल १५ युवाहरूलाई एक हप्ताको कोरियन खाना तयार गर्ने तालिम प्रदान गरेको हो।
साउन १९ देखि २६ गतेसम्म हिमालयन हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर, काठमाडौंमा तालिम प्रदान गरिएको थियो ।
कुल् ४५ घन्टाको तालिममा सहभागीहरूले किम्ची, किम्बाब, कोरियाली स्ट्यू तथा ट्टोकबोकीजस्ता खानाका प्रकारहरु तयार गर्न सिकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
सहसचिव सापकोटाले यस्ता आत्मनिर्भरमुखी तालिमले युवाहरूको सीप विकास भई देशमै रोजगारी सिर्जना गरेर केहि हदसम्म युवा पलायन रोक्न सकिने उनको भनाई छ। सिकेको तालिमले आफनै देशमा केही गर्न खोजिरहेकाहरू युवाहरूलाई उद्यमशीलता विकासमा टेवा पुग्ने कोरियाली अधिकारीहरूको विश्वास छ।
तालीममा सहभागीहरुलाई नेपालका लागि कोरियाली राजदूत पार्क तेयोगले बधाई तथा शुभकामना दिएका छन् ।
तालिम छोटो अवधिको भए पनि सिकेका कुराहरुले आत्मनिर्भरतामा सहयोग पुग्ने कोइका नेपालका देशिय निर्देशक कॉङ मु–ह्योनले बताए । यस्तै आप्रवासीहरूको विकास र आत्मनिर्भरतामा सहयोग पुग्ने अन्य कार्यक्रमका लागि पनि कोरियाले सहयोग गर्ने उनले बताए।
कोरियाबाट फर्कनु भएका युवाहरूको इच्छा अनुसार नै कोरियन खाना तयार गर्ने तालिम प्रदान गरिएको उनले बताए ।
तालीममा सहभागी युवाहरूले आत्मनिर्भरमा सहयोग पुग्ने तालिम लिन पाउँदा खुसी लागेको प्रतिकृया दिए । तालीममा सिकेको सीपले रोजगारीमा सहयोग पुग्ने आसा समेत ब्यक्त गरेका छन् ।















