मुगु हत्याका आरोपीको वयानः कतारको भिसा पठाउँछु भनेर नपठाएपछि हत्या


मुगु । मुगुमा आमासहित एउटै परिवारका चार जनाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँमा आमा र उनका ३ जना सन्तानसहित चार जनाको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय मुगुले पत्रकार सम्मेलन मार्फत दुई जनालाई सार्वजनिक गरेको हो।

हत्यामा संलग्न हुनेमा मुगुको छायानाथ रारा नगरपालिका ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् ।

प्रहरीले आरोपी शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आरोपी बोहराले हत्याको योजना बनाएको खुल्न आएको प्रहरीको भनाई छ।

कतारमा रहेका मृतकका श्रीमान् दीपक बोहरालाई हत्याका आरोपी गोपालबहादुर बोहराले कतारबाट आफूलाई पनि भिसा पठाइदिन आग्रह गरेको र दीपकले भिसा नपठाएपछि रिसले उनको श्रीमतीसहित बालबच्चाहरुको हत्या गरेको अनुसंन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाले बताए।

प्रहरीका अनुसार भीसा नपठाएको रिसमा गोपालले हत्याको योजना बनाएको र उनले अर्का आरोपी शाहीलाई दीपकको घरमा १०/१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए ।

कात्तिक ७ गते हत्याका आरोपि दुबैजना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेको र भोलीपल्ट ८ गते राति ९ बजे उनीहरू दीपकको घरमागई चारैजनाको हत्या गरेको अनुसंन्धानमा खुलेको छ ।

उनीहरूले दीपकको २८ वर्षीया श्रीमती श्रीदेवी बोहोरा, उनका दुई छोरा ११ वर्षीय मनोज, ८ महिनाको छोरा रहर र ८ वर्षीया छोरी अप्सराको घर भित्रै हत्या गरेका थिए।

आरोपीहरुले चारैजनालाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरि हत्या गरेको र त्यसपछि मृतक श्रीदेवीको १ थान मोबाइल, कानमा लगाएको रिङ र घाँटीको तिलहरी लुटपाट गरेर लगेको अनुसंन्धानमा पाइएको डीएसपी थापाले बताए।

घटना अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु लगायतको टोलीले तालीम प्राप्त कुकुरसहितको सहयोगमा अनुसंन्धान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार