सर्लाही । सर्लाहीमा छुवाछूतको मुद्धा तिन महिनासम्म पनि दर्ता हुन सकेको छैन । घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका–२ का अजयराम आफ्नो चार वर्षीय छोराको पोषणभत्ता बुझ्न वडा कार्यालय जानुभएको थियो ।
अजय भत्ता लिनका लागि लाइनमा बस्नुभएको थियो । त्यसै समयमा कार्यालय सहयोगी राम ईश्वर चौधरीले भित्रबाट पानी लिएर टेबुलमा राख्नुभयो । टेबुलमा राखेको पानी अजयले निकालेर पिउनुभयो । पानी पिएपछि कार्यालय सहयोगी चौधरीले चमार (दलित) भएर पानी छोएको भन्दै अजयलाई कार्यालय बाहिर निस्कन दबाब दिए तर अजय रामले मान्नुभएन ।
कार्यालय सहयोगी चौधरीले “तिमी चमार भएर मेरो पानी खाइदियो, पढेँ लेखेको भन्दैमा जे मन लाग्यो त्यही गर्छौं चमार भएर” भन्न भ्याएछन् । त्यसै क्रममा वडाध्यक्ष सञ्जय शाह आउनुभयो र उहाँले पनि तिमी चमार भएर जे मन लाग्छ त्यही गर्ने, पानी छोइदिने बाहिर निस्केर जाउ भन्न थाल्नुभयो । अजय रामले यो कसैको निजी सम्पत्ति होइन, म यहीँ बस्छु भन्दै गर्दा वडाध्यक्ष सञ्जय शाहले हातपात गर्न थाल्नुभयो ।
“मलाई वडाध्यक्ष शाहले बाहिर निस्केर जाउँ भन्दै गर्दा म बाहिर नगएपछि उहाँले मलाई कठालोमा समातेर कुटपिट गर्दै कार्यालयबाट बाहिर लिकाली दिनुभयो”, अजयले भन्नुभयो । अजयले न्यायका लागि तत्कालै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिँदा अहिलेसम्म मुद्दा दर्ता हुन सकेको छैन । अजयले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ अनुसार गत भदौ १ गते जाहेरी दर्ता गराउन प्रहरी कार्यालय पुग्नुभएको थियो ।
“मुद्दा दर्ता गर्नका लागि चार पटकसम्म म प्रहरी कार्यालय गए तर प्रहरी प्रशासनले वडाध्यक्षसँग मिल्नका लागि दबाब दिँदै आउनुभएको छ, मलाई प्रहरी माथि नै शङ्का छ”, पीडित अजयले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले वडामै मिलापत्र गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न मान्नुभएन । अजयले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे पटकपटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको सुनासो गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भन्नुभयो कार्यालय सहयोगीबाट हातपात भए पनि वडाध्यक्षसँग भनाभन भएको कुरा मात्रै आफ्नो जानकारी आएको भन्दै घटनालाई वडास्तरमै मिलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
पीडितले न्याय पाउनुपर्ने माग गर्दै दलित सङ्घर्ष समिति सर्लाही र स्थानीय दलित अधिकारकर्मीले ज्ञापनपत्र प्रस्तुत गर्नुका साथै, धर्ना, जुलुसलगायत विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।