काठमाडौं । १३औं दक्षिण एसियाली खेलुकद (साग) को आज भव्य समापन हुँदैछ । मंसिर १५ बाट सुरु भएको साग आज दशौं दिनमा समापन हुन लागेको हो ।
समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम छ । स्वास्थ्यका कारण सागको उद्घाटन समारोहमा सहभागी हुन नसकेका प्रधानमन्त्री ओलीले आज भिडियोमार्फत समापन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले भोलि (बुधबार) खेलाडीकै लागि राष्ट्र नाममा सम्बोधन गर्दै खेलाडी प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम समेत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
विभिन्न खेलहरुका लागि कडा प्रतिस्पर्दा
१३ औं सागअन्तर्गत आज पुरुष फुटबलको फाइनल खेल हुँदैछ । जसमा नेपाल र भुटान भिड्दैछन् । खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । यो खेललाई निकै महत्वका साथ हेरिएको छ ।
नेपालले यस खेलबाट स्वर्ण जित्ने विस्वाश लिएको छ । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो भने नेपाल साविक स्वर्ण विजेता हो ।
विभिन्न खेलका फाइनल खेलहरू हुने क्रममा आजै बास्केटबलतर्फ पुरुष र महिलाको फाइनल खेल हुदैछ । महिलातर्फ ऐतिहासिक रजत पक्का गरिसकेको नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतसँग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषदको कभर्डहलमा खेल्नेछ । यस्तै, जुडोतर्फ आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल हुनेछ । उता, बक्सिङतर्फ आज ८ स्वर्णका लागि फाइनल खेल हुनेछ ।