काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले संसदमा विश्वास मत लिनका लागि कुनै महाभारत नभएको बताएका छन् ।
सत्ता साझेदार दल समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले उक्त बहस नै अर्थहीन रहेको बताएका छन् ।
बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, “प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन छ । ‘प्रधानममन्त्रीले विश्वासको मत लिँदा पनि के बिग्रन्छ र रु बहुमत बिग्रिएको भए यो प्रश्न मजबुद भएर आउँथ्यो । कुनै दलले समर्थन गरेको थियो त्यो निस्कियो के भयो र रु प्रतिनिधि सभामा बहुमत छ । संविधानले व्यवस्था गरेको छ भने हाम्रो लागि महाभारत छैन । दश मिनेट लाग्ला, यसो हात उठाए भइहाल्यो ।”
सरकार बनिसेकपछि मात्रै समाजवादी पार्टी सरकारमा मिसिन आएकाले संसदमा विश्वासको मत आवश्यक नपर्ने उनले जिकिर गरे ।
संविधानको धारा १०० मा सत्तामा सहभागी गठबन्धनको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।