
काठमाठौं । सरकारले अहिलेसम्म कोरोना संक्रमित पत्ता लगाउन गरीएको पिसिआर परीक्षणमा ३ अर्ब बढी खर्च भएको बताएको छ । शुक्रबार कोरोना अपडेटको नियमित पत्रकार सम्मलेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अहिलेम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको बताएका छन् ।
पिसिआर परीक्षणका लागि एक जना व्यक्ति बराबर ५ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । अहिलेसम्म सरकारले ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण गरिसकेको छ । त्यो सबै जोड्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय हुन्छ ।
त्यस्तै एक जना कोरोना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च हुने बताएको छ । ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसीआर परीक्षण गर्दा ३० हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पत्ता लगाउनका लागि यति खर्च हुन्छ भने संक्रमित भइसकेपछि उपचारमा एक जना बराबर ४ लाख खर्च हुने प्रवक्ता गौतमले बताए ।
उनले कोरोना संक्रमित पत्ता लगाउन र उपचारमा धेरै खर्च लाग्ने भएकाले सरकारले बनाएका नियमको पालना गरी घर बाहिर ननिस्कन सबैलाई अनुरोध गरेका छन् । साथै घर बाहिर निस्किनै पर्ने भने सुरक्षाका मापदण्ड अपनाएर मात्रै निस्किन पनि अनुरोध गरेका छन् ।











