
विराटनगर । कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ भने २८ जना बेपत्ता छन्, ६ जना घाइतेको उद्धार भएको छ । शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो धनजनको क्षती भएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १र१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ ।
यस्तै हालसम्म पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर बेपत्ता हुनेको सङ्ख्या २१ जना रहेको छ । जसमा सङ्खुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जम्मा १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ ।












