
काठमाडौं । संचारकर्मी गोमा परियारको शब्दमा देशका चर्चित ब्यक्तिहरुको अभिनयमा कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक गीत सार्वजनिक भएको छ ।
आइतबार सार्वजनिक भएको गीतमा लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको स्वर रहेको छ । कोरोना भाइरस बोलको गीतमा गायक खातीले नै संगीत भरेका हुन ।
जनचेतनामुलक यस गीतमा कलाकार दिपा श्री निरौला, पत्रकार ऋषि धमला, सांसद तथा कलाकार कोमल ओली, गायक बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, हाँस्य कलाकार उमेश राई (फुँलन्देकी आमा) राजेन्द्र नेपाली (लट्टे) र ईश्वरी खातीको अभिनय रहेको छ ।
गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा रहेको गीत मेक्सम नरेश अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबारे नेपालमा पनि ठुलो त्रास रहेकाले यसबाट कसरी बच्ने, कुन कुरामा सावधानी अपनाउने भन्नेबारे गीतमार्फत सन्देश दिन खोजिएको गीतका संर्जक तथा संचारकर्मी गोमाले अनमोलपोस्टलाई बताइन ।
चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८८ देशहरुमा फैलिएर शनिवारसम्म १३ हजार मानिसको ज्यान लिइसकेको छ भने ३ लाख भन्दा बढि संक्रमित छन् ।
नेपाल सरकारका अनुसार अहिलेसम्म नेपालमा कोरोना भाइरसका संक्रमित भेटिएका छैनन् । सरकारले संक्रमणबाट बच्नका लागि उच्च सर्तकता अपनाइरहेको छ । कोरोनाको संक्रमणबाट जोगिनु भनेकै ब्यक्तिगत सरसफाइ र सावधानी नै हो ।
चिकित्सकका अनुसार यसबाट जोगिन पटक पटक सावुनपानीले हात धुने, घरबाट बाहिर नजाने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने, हाछ्युँ गर्दा खोक्दा, कपडाले मुख छोप्ने, भिडिभाडयुक्त ठाउँमा नजाने । साथै एक्कासी उच्च ज्वरो, खोकी र छाती दुख्ने भएका तुरुन्त अस्पताल गई चेकजाँच गर्नुपर्छ ।









