पाँच महिनापछि बल्ल आजबाट खुल्यो अन्तराष्ट्रिय उडान, यसरी गरिदै छ व्यवस्थापन


काठमाडौं । कोरोना महामारीका कारण रोकिएको अन्तराष्ट्रिय उडान पाँच महिनापछि आजबाट खुलेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण गत चैतबाट बन्द भएको उडान आजबाट नियमित खुलेको हाे ।

सरकारले भदौ १६ गतेबाट नियमित उडान गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । पाँच महिनापछि पहिलो उडान आज  मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भएको छ । त्यस्तै बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ ।

नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । त्यसबीचमा रोकिएका यात्रुलाई बाहिर लैजाने र बाहिरबाट नेपाली ल्याउनका लागि चार्टर्ड उडानहरु भएका थिए ।

तर, सरकारले केही सर्तसहित आजबाट नियमति उठान सुरु गरेको छ । पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान सुरु भएको हो ।

पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन पाइनेछ । यस्तै पिसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर्ड उडान मात्र सञ्चालन हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

कोरोनाको जोखिम अझै कायमै भएकाले सरकारले जोखिमलाई मध्येनजर गरी यात्रु जहाजबाट झरिसकेपछि नेपाल एयरलाइन्सको र्‍याम्पबसले यात्रुलाई प्रस्थान टर्मिनलसम्म ल्याउने र त्यहाँबाट सेनाले होल्डिङ सेन्टर लैजाने गरेको छ । होल्डिङ सेन्टरबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई फाराम भराएर घर पठाइन्छ भने रिपोर्ट नभएका यात्रुलाई क्वारेन्टिनमा पठाइने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार