
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी भएको बताएका छन् । आइतबार सामाजिक संजालमार्फत उनले आफ्नै पार्टी भित्रबाट सरकारलाई घेराबन्दी गरिएको आरोप लगाएका हुन ।
सरकारले ल्याएका अध्यादेशपछिका राजनीतिक घटनाक्रमबारे सरकारको चौतर्फी आलोचना भइरहेका बेला सल्लाहकार थापाले ‘जनमतको घोर अपमान र भागबन्डाको स्वभाविक परिणाम’ भन्दै टिप्पणी समेत गरेका छन् ।
“जनमतको घोर अपमान, भागबन्डाको स्वभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । कोरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल, नेकपाको नाममा”, उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा समेत छलफल नगरी एकलौटी ढंगले अध्यादेश ल्याएको भन्दै पार्टी भित्रै चर्को आलोचना भइरहेका बेला उनले ओलीको बचाउ गरेका छन् ।
सरकारको गलत कदमको चौतर्फी बिरोध भइरहेका बेला सल्लाहकार थापाले यसलाई पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा समेत भनेका छन् ।
सरकारले बिशेषगरी दल विभाजन र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेश जारी गरेपछि यसले समग्र नेपाली राजनीति र सत्तारुढ नेकपाभित्र ठुलै तरंग ल्याएको छ ।
सरकारले बैशाख ८ गते (सोमबार) यि दुई अध्यादेश जारी गरे लगत्तै सुरु भएको चर्को बिरोधपछि सरकारले यसलाई शुक्रबार फिर्ता लिन बाध्य भएको थियो ।
अध्यादेश जारी भएकैबीचमा समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा रातारात जनकपुरबाट काठमाडौं ल्याएपछि सरकारको झनै आलोचना बढेको छ ।
प्रधानमन्त्रीको आग्रहमा सांसद यादवलाई सांसद महेश बस्नेत, पूर्वआइजिपी सर्वेन्द्र खनाल र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं ल्याएका थिए ।















