
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । आज (बुधबार) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम, लिपुलेक लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
यसअघि वैशाख २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक छलफलका लागि एजेण्डा तय गर्न नसक्दा अन्तिममा आएर स्थगित भएको थियो । तयारीका लागि २४ गते बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नसक्दा बैठक स्थगित भएको थियो ।
स्थायी कमिटी बैठक बोलाउन २० जना स्थायी कमिटी सदस्यहरुले यसअघि नै अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र बुझाइसकेका थिए । तर, बैठकका लागि प्रचण्ड तयार रहेपनि ओली मौन रहँदा पार्टीमा विवाद चर्किदै आएको छ ।
स्थायी कमिटी बैठक बोलाउन अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु एकमत रहेपनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली र उनको समुह यसलाई नकार्दै आएको थियो ।
सरकारले राम्ररी काम गर्न नसकेको, महत्वपुर्ण निर्णय गर्दा प्रधानमन्त्री ओलीले एकल निर्णय गर्ने गरेको भन्दै पार्टीभित्र असन्तुष्टी बढेको नेताहरु बताउँछन् । सरकारका काम र प्रधानमन्त्रीको कार्यशैलीका कारण उनको राजीना समेत माग्ने आवाज पार्टीभित्रै उठिसकेको थियो । यद्यपी देश कोरोना कहरमा रहेका बेला सरकारको नेतृत्व बदल्ने कार्यले नराम्रो सन्देश जाने कतिपय नेकपा नेताहरुको भनाई रहँदै आएको छ ।










