दलित पुनर्जागरणको आवश्यकता

वर्षौ वर्षदेखि यो देशका लागि आविष्कारकका रुपमा, इन्जिनियरका रुपमा, डिजाइनरका रुपमा, सूचनावाहकका रुपमा, सफाइकर्मीका रुपमा दलित समुदायले स्वाभीमानी पूर्वक समाजमा गरेको योगदान प्रति जति गर्व छ, त्यति नै गर्व नेपालका राजनीतिक दलहरुभन्दा पनि अगाडि स्थापित भएको दलित आन्दोलन प्रति छ । वि.स. १९९७ सालबाट अनौपचारिक रुपमा र वि.स. २००३ सालबाट औपचारिक रुपमा शुरु भएको जातीय विभेद र छुवाछुत विरुद्धको दलित आन्दोलनले ७३ वर्ष पार गरेको छ । विभिन्न उतारचढावका वावजुद आन्दोलन यहाँ आइपुग्दा प्रशस्त उपलव्धीहरु भएका छन् भने कतिपय कमजोरीहरु पनि देखिएका छन् । यहाँ दलित आन्दोलनको पुनरर्जागरणका वारेमा चर्चा गरिनेछ ।

गर्विलो इतिहास

नेपालका दलित समुदाय कहिल्यै कसैसँग परनिर्भर हुन परेन् । आफ्नो सीप, कला, मेहनत र क्षमताले उनीहरुले ढुंगे युग देखि जंगली युगमा रहेका मानवहरुलाई सभ्य समाजतिर डोराए । आफूले अन्याय, पीडा, विभेद तथा शोषण सहेर पनि समाजका लागि सधै योगदान दिएको दिइरहे । अरुको मेहनतमा रमाउने, शोषण गर्ने, ठग्ने सामन्तवादीहरुका अगाडि उनीहरु आत्मनिर्भर, स्वावलम्वी र कर्मशील ठहरिए ।

इतिहासदेखि आज सम्म दलित समुदायले समाजका लागि जे योगदान गरेका छन् त्यति कुनै पनि समुदायले गर्न सकेको देखिदैन । यसैले हामी हाम्रो इतिहास र वर्तमानप्रति गर्व गर्दछौ । यसका साथै गौरवपूर्ण इतिहासको व्यापक खोजी गर्दै यसको पुनर्जागरणको थालनी गरौ ।

गर्विलो दलित आन्दोलन

समाजका लागि आफ्नो सर्वस्व अर्पपण गर्दा पनि अन्याय र शोषण भएपछि, मानवका रुपमा जन्मेकाहरुलाई पशुसरह वनाएपछि दलितहरुले यसका विरुद्धमा विभिन्न समयमा विद्रोह गरेको देखिन्छ । दलितहरुमा शुरु देखिनै आत्मनिर्भर, स्वालम्वी र विद्रोही स्वभावका थिए । ग्लुंगका भगत सर्वजित विश्वकर्माले वि.स. १९९७ सालमा धार्मिक अधिकारको माग गर्दै शुरु गरेको विद्रोह अहिले यो अवस्थासम्म आइपुगेको छ । दलितहरुको विद्रोह तथा प्रतिरोधी आन्दोलन शान्तिपूर्ण, न्यायका पक्षमा र देशभक्तिपूर्ण रहेको देखिन्छ । उनीहरुको आन्दोलन राष्टियता, अखण्डता र सार्वभौमिकताका विरुद्धमा कहिल्यै पनि देखिएको छैन् ।

जटिल सामाजिक र राजनीतिक परिवेशमा कठिन परिस्थितिसँग जुध्दै, सीमीत शिक्षा, कमजोर आर्थिक अवस्था, विभिन्न क्षेत्रमा कमजोर पहुँच, कदम कदममा हुने विभेद र वञ्चितिरणको अनगिन्ती कहर पार गर्दै दलित समुदायका अग्रजहरुले यो आन्दोलनलाई अहिलेको अवस्थामा ल्याएका हुन् । अहिले जस्तो सूचना, प्रविधि, स्रोत साधन, राज्यमा पहुँचको थालनी जस्ता कुनै पनि सुविधा हाम्रा अग्रजहरुसँग थिएन् । त्यस्तो कठिन परिस्थितिमा आन्दोलनको शुरुवात गर्ने, निरन्तरता दिने र यो अवस्थामा ल्याउने तमाम अग्रजप्रति हाम्रो नमन छ र हामी गौरव गर्दछौ ।

रुकुम नरसंहार पश्चात दलित समुदायमाथिको विभेदको रुप र दमनमा एक खालको प्याराडयम सिफ्ट जस्तै भएको छ । यस परिवेशमा हामीले हाम्रो इतिहास, आन्दोलनको विरासतलाई अध्ययन गर्ने मनन गर्ने गौरव गर्ने र दलित आन्दोलनको पुनर्जागरण गर्न आवश्यक छ ।

दलित पुनर्जागरणको महाअभियान

अहिले आम दलित समुदाय, दलित नेताहरु, नागरिक समाजका व्यक्तिहरु पद, प्रतिष्ठा, स्रोत साधन, सम्पत्ति र शक्ति आर्जनमा रमाएको पाइन्छ । हरेक काम र अभियानमा आत्मकेन्द्रीत र चरम स्वार्थ हावी भएको देखिन्छ । संयुक्त आन्दोलनबाट यहाँसम्म आएको इतिहास हुँदा हुँदै पनि एकले अर्काको अस्तित्व स्वीकार नगर्ने, एकले अर्कोलाई हिलो छ्याप्ने र उसलाई कमजोर देखाएर आफूलाई श्रेष्ठ ठान्ने प्रवृति निकै वढेको देखिन्छ । यसरी हेर्दा हिजोका सवै विरासतहरु भूलेको देखिन्छ ।

दुई चार कक्षा पढ्दैमा, दुई चार अक्षर लेख्न सक्दैमा, दुइ चार शव्द वोल्न सक्दैमा पार्टी सत्ता वा राज्य सत्ताका कुनै पदमा पुग्दैमा, दुई चार पैसा कमाउँदैमा, सामाजिक सञ्जालमा दुई चार जनाले जयजयकार गर्दैमा अहिलेका दलितहरुले म जस्तो ठूलो र जान्ने सुन्ने कोही छैन भन्दै अंहकार देखाउदै आएका छन् । यो उनीहरुका लागि त घातक हो नै सिंगो दलित आन्दनोलनको पनि ठूलो चुनौति हो ।

अव हामीले यो गलत प्रवृतिको विरुद्धमा व्यापक भन्डाफोर गर्ने र दलित आन्दोलनको पुनर्जागरण अभियानको थालनी गर्नुपर्ने देखिन्छ । आउनुहोस दलित समुदायले समाज र देशप्रति गरेको योगदानप्रति गर्व गरौ । हामी भित्र रहेको आत्मनिर्भर, स्वावलम्वी र स्वाभिमानिपन प्रति गर्व गरौ । र पुर्खौदेखि हामीमा रहेको विद्रोही चेतलाई मजवुद वनाउ । वर्ण व्यवस्था र जाती व्यवस्थाको समुल अन्त्यका लागि दोस्रो चरणको आन्दोलनको तयारी स्वरुप दलित पुनर्जागरणको महाअभियानको थालनी गरौ ।

(लेखक अध्येता तथा अधिकारकर्मी हुन ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार