कमलादीमा भेटिएको सुनबारे प्रहरीमाथि नै आशंका भएपछि छानबिन समिति गठन


काठमाडौं । काठमाडौंको कमलादीमा हतियारसहित बरामद भएको सुनका बिषयमा प्रहरीमाथि नै आशंका भएपनि छानविन समिति गठन गरिएको छ ।

उक्त घटनामा प्रहरीको भुमिकामाथि नै प्रश्न उठेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठौर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसी रहेका छन् ।

हिजो बिहान दुई थान पेस्तोलसहित १४ किलो चाँदी र आधा केजी सुन फ्याँकेर भाग्ने स्कार्पियो गाडीलाई प्रहरीले किन समात्न सकेन भन्ने लगायतका प्रश्नहरु उठेपछि अनुसन्धान गर्न छानविन समिति गठन भएको हो।

सामान फालेर गाडी कसरी फुत्किन सफल भयो भन्नेबारे छानबिन गरेर यथार्थ विवरण ल्याउन समितिलाई कार्यादेश दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले गाडी चेकजाँच गर्दैगर्दा सामान बरामद भएको तर बा ६ च ५५११ नम्बरको स्कार्पियो भागेको बताइएपछि प्रहरीको भुमिका माथि नै प्रश्न उठेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार