
काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचारले सीमा नाघेको बताए।
आईतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता समेत व्यक्त गरे ।
‘केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन, यस्ता गफाडीहरुको हातमा यो देश गयो, अनुसन्धानको खाँचो छ, नयाँ सोच, विचारको खाँचो छ। यस्तो गरिब देश छ नेपाल, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जान सकिन्न, बालुवाटरमै हेलिप्याड चाहिन्छ । त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ, करोडौं रुपैयाँ खर्च गर्ने हो ?, अध्यक्ष नेपालले भने ।
उनले आफु प्रधानमन्त्री भएको बेलामा पनि यस्तो भ्रष्टाचार नदेखेको बताए। ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम,नेपालले भने ।
अध्यष नेपालले राष्ट्रपति भवनमा अर्को हेलिप्याड बनाउने कुरो भइरहेकोप्रति विरोध जनाएका छन्।










