
काठमाडौ । चुनावी सभामा सहभागि भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ ।
नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका विनोद चौधरीको चुनावी सभामा सहभागि भएको भन्दै अध्यक्ष केसीलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
सरकारी पदमा रहेको ब्यक्ति त्यसरी चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिता विपरीतको कार्य हुने भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण विपरीतको काम गरेको भन्दै आयोगले केसीसँग स्पष्टीकरण सोधेको छ ।
‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?’, स्पष्टीकरण पत्रमा भनिएको छ ।
सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रुपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गरेको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाही समेत हुनसक्ने ब्यवस्था छ ।










