
बांके । बांकेको नेपालगंजमा एकैदिन १५ जनामा कोरोना संक्रमण भेटिएको छ । आज (आइतबार) नेपालगञ्ज उपमहानगरपालिका ८ पार्क टोलमा १५ जना नयां संक्रमित भेटिएका हुन । संक्रमण देखिएका १५ जना पार्क टोलकै बासिन्दा हुन् । दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा ९ जनामा संक्रमण भेटिएको जानकारी दिइएको थियो ।
त्यसपछि साँझ सोहि ठाउमा थप ६ जनामा संक्रमण भेटिएको मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्धार जारी विज्ञप्तिअनुसार संक्रमण हुने थप ६ जनाहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला रहेका छन् ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनिहमा संक्रमण भेटिएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।
तीनदिन पहिले सोहि ठाँउमा भेटिएका ६० वर्षीय कोरोना संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमित ६० बर्षीय पुरुषले मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नवाज पढ्न सिकाउँने गरेको समेत खुल्नमा आएको छ । ।
उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।








