कोरोना कहर: ‘कृषी’ बढ्दो गरीबी र खस्किदो अर्थतन्त्रको टेको

कोरोना संकटमा कसरी रोजगारी सिर्जना गर्ने ?

  तिलक रावत (टिबिआर)

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले संसारैभरी बितण्डा मच्चाइरहेको बेला मैले यसलाई देशका बैंक तथा वित्तीय संस्थाहरुसंग जोडेर हेर्ने कोषिश गरेको छु ।

आफु एक व्यस्थापनको बिधार्थी र यस क्षेत्रमा कार्यरत रहेकाले पनि कोरोनाका कारण ओरालो लाग्दै गरेको देशको अर्थतन्त्रबारे चासो र चिन्ता लाग्नु स्वभाविकै पनि होला ।

कोरोनाले विश्वमा हालसम्म साढे दुई लाख बढीको ज्यान लिइसकेको छ भने करिब ३८ लाख मानिसहरु संक्रमित छन् । नेपालमा भने अहिलेसम्म कुनै मानविय क्षती भएको छैन्, यो एउटा खुशीको खबर नै हो । तर, कोरोना नियन्त्रण हुनुको सट्टा झन फैलिदै जानुले विश्वमै थप चिन्ता र तुनौती थपिएका छन् ।

हालको लागि कोरोनाबाट बच्ने एउटै विकल्प ‘लकडाउन’ भएकाले त्यसको प्रयोग भइरहँदा देशका सम्पुर्ण कलकारखाना, उद्योग धन्दा, पर्यटन लगायत आयमुलक क्षेत्र ठप्प छन् । जसले गर्दा देशको समग्र आर्थिकस्थिति उथलपुथल भएको छ । नेपालको अर्थतन्त्र वैदेशिक रोजगार (रेमिटेन्स) मा निर्भर रहेको परिप्रेक्षमा कोरोनाका कारण यो बन्द भएपछि देशको अर्थतन्त्रमा ठुलो धक्का पुगेको छ ।

पुजीवादी प्रविधिले देशको अर्थतन्त्रलाई नराम्रो प्रभाव पारिरहेका बेला कोरोनाले झन दशकपछि धकेल्ने संभावना देखिन्छ ।
यदि देशको आर्थिकस्थिति यहि गतिमा गइरहने हो भने सरकारले जे सस्ता उपाय गर्दा पनि बैक तथा बित्तीय सस्थाहरुले ठुलो घाटा ब्यवहोर्नु पर्ने निश्चित छ । जसले गर्दा देशकै अर्थतन्त्र डामाडोल हुनेछ।

फलस्वरूप ब्यालेन्स सिट निर्माण गर्न कर्जा कटौती गर्नुपर्ने स्थिति पनि आउन सक्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने करिब ४५ प्रतिशत भन्दा बढी मानिसहरुलाइ बैंक तथा टेक्नोलोजी सम्बन्धी पुर्ण ज्ञान छैन् । जसका कारण बैंक तथा बित्तिय सस्थाले ल्याएका नयां सेवा तथा सुबिधा पनि उनिहरुले सहज रुपमा लिन सकिरहेका छैनन् ।

छिमेकी देशहरुले बैंक तथा बित्तिय सस्थालाई क्यासलेस तथा डिजिटल बैंकिङ सिस्टममा जोड दिइरहेका छन् । यो प्रविधिमा जान नेपालका बैंक तथा वित्तिय संस्थाहरुलाई ठुलो आर्थिक खर्च गर्नुपर्ने हुन्छ । जुन सबैका लागि सहज छैन् ।

लकडाउनले गर्दा नेपाली उत्पादनलाई सहजै निर्यात गर्न नपाउनु तथा नेपालमा उत्पादन भएका बस्तुको सहि बजार नपाउनु अर्थतन्त्रमा अर्को घाटा हो । विदेशी लगानीकर्तासंग भएका सम्झौता तथा विभिन्न क्षेत्रका आयोजना एवम् विकास निर्माण कार्यले गति नपाउँदा पनि देशको अर्थतन्त्रमा असर परिरहेको छ ।

नेपाल एक विकासोन्मुख देश भएकाले यहाँ बैंक तथा वित्तीय सस्थाहरु लोभलाग्दो प्रगतीमा भएपनी कतिपय सरकारी नीति नियमका कारण अर्थतन्त्रमा नै संकट हुन उत्पन्न हुनसक्ने खतरा छ । कोरोनाको निरन्तर प्रभावपछि बैंक तथा बित्तीय संस्थाले प्रवाह गरेको कर्जा असुली गर्न पनि एक ठुलो चुनौतीका रुपमा खडा भएको छ ।

बैंक तथा बित्तीय संस्थाहरुलाई सवल बनाउने मुख्य पिल्लर भनेको नेपाल रास्ट्र बैंक, बैंक एसोसिएसन, र अर्थ मन्त्रालय हुन । तर, यिनहरुबीच कतिपय कुराहरुमा आवश्यक समन्वय हुन नसक्दा पनि देशको अर्थतन्त्रमा असल पर्दै आएको छ । कोरोना कहरकाबीच यि निकायहरुले खस्किदै गइरहेको देशको अर्थतन्त्र कसरी बचाउन सकिन्छ भन्नेबारे ठोस कार्य गर्न आवश्यक देखिन्छ ।

मुलुकबाहिर अहिले पनि ५० लाख भन्दा बढि नेपालीहरु रहेको बताइन्छ । कोरोनाका कारण झन्डै ३० लाख बढी स्वदेश फर्किने तयारीमा छन भन्ने समाचारहरु आइरहेका छन् । विदेशबाट एकैचोटी यति ठुलो संख्यामा स्वदेश फर्केमा के गर्ने भन्नेबारे सरकारले गृहकार्य गर्न ढिला गरिरहेको छ ।फर्केकाहरुलाई रोजगारीदेखि उनिहरुको तत्कालको ब्यवस्थापन कसरी गर्ने भन्नेबारे सरकारले सोचेंर काम गर्ने थोरै समय अझै बाँकी छ ।

कृषी क्षेत्र : खस्किदो अर्थतन्त्रको टेको
कोरोनाका कारण उद्योग धन्दा, कलकारखाना सिथिल रहेको अवस्थामा जिविकोपार्जन र खस्किदो अर्थतन्त्र बचाउने टेको अब कृषी क्षेत्र नै बाँकी रहेको छ । पर्यटन हुनसक्थ्यो त्यो तत्कालका लागि संभव छैन् ।
त्यसैले सरकारले कृषि क्षेत्रलाई बलियो आयआर्जन र रोजगारीको बलियो क्षेत्रका रुपमा घोषणागरी यसका काम गर्न ढिला गर्नुहुन्न । नेपालमा कृषीका लागि योग्य जमिन प्रसस्तै छ ।

उक्त जमिनलाई पनि विभिन्न पकेट एरिया घोषणागरी त्यहिअनुसार अन्नवाली, फलफूल, नगदेबाली लगाएर रोजगारीका साथै आर्थिक क्षेत्रलाई माथि उकास्न सकिन्छ । कोरोनाका कारण धेरै मानिसहरुको रोजगारी गुमेको र अझै गुम्ने खतरा रहेकाले देशमा गरीबी बढ्नेतर्फ सरकारले ध्यान दिनैपर्छ ।

बैंक तथा वित्तिय क्षेत्रले पनि समयअनुसार अझै कृषीमा लगानी गर्नुपर्ने देखिन्छ । तत्कालिन र दिर्घकालिन योजना बनाइ जान सकियो भने कोरोनाका कारण अर्थतन्त्र पुर्णरुपमा डुब्नबाट जोगिन सक्छ । र, देशलाई गरीबी र भोकमरीबाट बचाउन सकिन्छ ।

सरकारले कृषी क्षेत्रलाई टार्गेट गरेर अघि बढ्दा कृषक र कृर्षीजन्य बस्तुको सुरक्षाका लागि सरकारले विमा कम्पनीसंग समन्वयगरी अगाढी बढ्न सकिन्छ । कृर्षीजन्य बस्तुको ब्यवस्थापन र बजारका लागि सरकारीस्तरबाटै काम हुनुपर्दछ । यदि यसमा ठेकदारी भयो भने कृषहरु मारमा पर्नेछन र गरीबी झन बढ्नेछ ।

कालोबजारी र भ्रष्टाचारबिरुद्ध कठोरता
कोरोनाको संकटमा पनि कालो बजारी, भ्रष्टाचार कायममै रहेकाले सरकार यसका बिरुद्ध निर्मम ढंगले उत्रिनु पर्दछ । यस्ता कार्यमा जोसुकै संलग्न भएपनि सरकार कडा रुपमा प्रस्तुत हुनै पर्दछ । देश महामारीसंग जुधिरहेका बेला पनि कालोबजारी र भ्रष्टाचारका खबरहरु आइरहेकाले यसले जनतामा थप निरासा ल्याउने काम गरिरहेको छ ।

अहिले पनि दैनिक ज्यालादारी गरि गुजारा गर्नेहरु महंगी र कालोबजारीको मारमा छन् । एकातीर रोजगारी छैन भने अर्कोतीर बजारमा दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी र महंगी छ ।

लकडाउन गर्नुपुर्व ज्यालादारी र विपन्न बर्गको दैनिकीबारे सरकारले ध्यान नदिदा सबैभन्दा बढी उनिहरु मारमा परेका छन् । हुन त हतारमा लकडाउन गर्नुपर्ने सरकारसंग आफ्नै बाध्यता थिए होलान तर खान नै नपाउने स्थिती आउनु दुखत कुरा हो ।

कोरोना रोकथाम तथा नियन्त्रण र खस्किदो आर्थिक क्षेत्रबारे सरकारले विश्व स्वास्थ्य संगठन लगायत सार्क मुलुकहरुसंग थप कुटनीतिक सम्बन्ध बढाउदै सहयोग र सहर्काय गर्न जरुरी छ । कोरोनासंग संयुक्तरुपमा लड्नका लागि सार्कराष्ट्रहरु मिलेर केहि आर्थिक पुंजी पनि खडा गरेका छन् । जुन आफैमा सकारात्मक काम हो ।

अब उक्त पुंजीलाई अझै बढाउदै समग्र सार्कराष्ट्रहरुको गरीबी, भोकमरी र अर्थतन्त्रलाई माथि उठाउन पहल गर्नुपर्ने देखिन्छ । यो कार्यका लागि नेपालले नै पहल कदमी लिँदा अझ राम्रो हुनेछ । किनकी नेपालको गरीबी कोरोनाका कारण अझै बढ्ने निश्चित छ ।

जडिबुटी क्षेत्र :  अर्थ र रोजगारी सिर्जना
कोरोनाका कारण विश्वकै अर्थतन्त्र धरापमा छ । हरेक क्षेत्रमा रोजगारी गुम्दै गइरहेका छन् । नेपालमा झन सिमीत रोजगारी भएकाले बढी संकट देखिने पक्का छ । त्यसका लागि रोजगारी खोज्नु भन्दा पनि सिर्जना गर्नुपर्नेतर्फ सबैले ध्यान दिनुपर्दछ । नेपालमा जिविकोपार्जन र रोजगारीका लागि कृषीपछि जडिबुटी अर्को सुलभ क्षेत्र हो ।

कोरोनाका कारण खस्किदै गएको अर्थतन्त्र र गरीबीलाई नेपालका हिमाली, पहाडी र तराईका फाँटहरुमा पाइने अमुल्य जडिबुटी एउटा बलियो आधार बन्न सक्छ । जसलाई अहिलेसम्म सरकारले सहि सदुपयोग गर्न सकिरहेको छैन् । यो संकटको बेलामा सरकारले यसलाई पनि बलियो आर्थिक क्षेत्रका रुपमा अगाडी ल्याउन सक्नुपर्दछ । जहाँ आर्थिक र रोजगारी दुबै हुनेछ । तर, अहिलेसम्म केहि दलाल र तस्करहरुले मात्रै नेपालका अमुल्य जडिबुटीबाट भरपुर फाइदा लिइरहेका छन् ।

भनिन्छ, ‘हरेक समस्या अवसर पनि लिएर आउँछ’ । त्यसैले कोरोनाले हरेकलाई आत्मनिर्भर बनाउने अवसर पनि दिएको छ । प्रयाप्त संभावना हुँदा हुदै पनि नेपाल अझै धेरै कुराहरुमा परनिर्भर छ । दैनिक उपभोग्य बस्तुदेखि अन्य कुराहरुमा । अब स–सना उद्योगदेखि कलकारखाना खोल्दै आत्मनिर्भर हुने र रोजगारी सिर्जना गर्दै उत्पादनलाई निर्यात गर्ने ठुलो अवसर कारोनाले दिएको कुरालाई दिमाग लगाएर सोच्नैपर्दछ ।

जडिबुटी क्षेत्र पनि एक उर्बर क्षेत्र बन्नेछ । त्यसका लागि स्थानिय र प्रदेश सरकारले बढि जिम्मेवार भई आफ्ना योजना तथा नीति बनाएर काम गर्न सकेमा खाडी लगायतका अन्य मुलुकबाट गाउँघर फर्किनेहरुले स्थानिय तहमै रोजगारी पाउन सक्नेछन् । उत्पादनलाई निर्यात गरी आयआर्जन गर्न सक्नेछन् । खुला सीमाका कारण यो त्यति सहज नहुन सक्छ तर त्यसका लागि सरकारले चाहेमा कुनै ठुलो कुरा भने पक्कै छैन् ।

कोरोनाका कारण आएको संकट समाधानका लागि सरकार, एउटा क्षेत्र, एउटा निकायको कोशिष मात्रै प्रयाप्त हुने छैन् । त्यसैले सिंगो देश र सम्पुर्ण नेपालीले धैर्य गर्दै आ–आफ्नो क्षेत्रबाट इमानदारीपुर्वक काम गरियो भने देशको अर्थतन्त्र , गरीबी र बेरोजगारीलाई धेरै हदसम्म कम गरेर अघि बढ्न सकिनेछ । होइन भने कोरोनाले देश र जनतामा ठुलो बर्बादी ल्याउनेछ ।

(लेखक: ब्यवस्थापनका बिद्यार्थी हुन भने युनाइटेड फाइनान्स लिमिटेड बर्दिबास शाखामा रिलेसनसिप म्यानेजरको रुपमा कार्यरत छन् )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार