काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट बाआमा गुमाएका दुई बालिकालाई भेटेका छन् । हिजो वेलुकी काठमाडौंको कागेश्वरी मनोहरा २ आलापोट पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अभिभावक विहिन बनेका दुई छोरीहरुलाई भेटेका हुन् ।
झाँक्रीको गाडीको ठक्करबाट ज्यान गुमाएका ३८ वर्षीय नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रचण्ड आलापोट पुगेका थिए । उनले दुखको घडिमा परिवारजनलाई भेटेर सान्त्वना दिनका साथै नारायण र सानुमायाकी दुई छोरी गरिमा र अनुको अभिभावक बनेर रहेने समेत प्रतिवद्धता गरेका छन् । नारायण नगरकोटी स्थानिय माओवादी नेता थिए ।
कार्तिक २८गते काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री भुजेलको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पती को निधन भएको थियो ।