
काठमाडौँ । सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमी लिपुलेकलाई लिएर चीन र भारतबीच भएको सम्झौता नेपाललाई अस्वीकार्य रहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमबारे धारणा राख्दै नेता नेम्वाङले नेपाललाई नसोधिकन दुईबीच भएको लिपुलेकबारेको सम्झौता अस्वीकार्य रहेको बताएका हुन ।
“हामी भुकम्पले क्षतविक्षत भएको २०औं दिनमा हाम्रा दुई छिमेकीले एउटा सहमती गर्नुभयो, र लिम्पियाधुरालाई ब्यापार नाकाका रुपमा अगाडी बढाउने भनेर । यो उहाँहरुले हामीलाई नसोधिकन गर्नुभयो । म विनम्र शव्दमा भन्न चाहन्छु, हामी विनम्रतापुर्वक भन्न चाहन्छौं त्यो सहमतीप्रति हाम्रो स्विकार्यता छैन”, नेता नेम्वाङले भने ।
भारत र चीनले लिपुलेकबारे सन् २०१५ मा गरेको सम्झौतालाई नेपालले अस्वीकार गरेको उनले प्रष्ट पारे । नेपाली भूमिमा दुई देशबीच व्यापारिक मार्ग बनाउने भारत र चीनबीच सहमति भएको थियो ।
दुबै देशले ब्यापारका लागि आफुलाई नसोधीकनै सम्झौता गरेकाले त्यसका विरुद्धमा सबै दल र देशलाई एकजुट बनाएर लड्ने नेता नेम्वाङको भनाइ थियो ।










