फोक्सो क्यान्सरका बिरामी ७४ वर्षीय वृद्धले पनि कोरोना जिते


चितवन । फोक्सोको क्यान्सरका बिरामी ७४ वर्षीय वृद्धले पनि कोरोना जितेका छन् । चितवनको भरतपुर महानगरपालिका– ६ का वृद्ध कोरोना जितेर शुक्रबार अस्पतालबाट घर फर्केका छन् ।

वृद्धलाई अस्पतालले फूल दिएर बिदाइ गरेको छ । फोक्सोको क्यान्सरका बिरामी उनि उपचारका लागि अस्पताल जाँदा जेठ ९ गते उनमा कोरोना संक्रमण देखिएको थियो ।

उनकी ७३ वर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएपछि दुबै जनाको झण्डै एक महिना भरतपुर अस्पतालमा राखेर उपचार गरिएको अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले बताए । दुबै जना कोरोना मुक्त भएपछि अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएको उनको भनाई छ ।

उपचारमा संलग्न डा. पौडेलले ७४ वर्षका फोक्सो क्यान्सरबाट पीडित वृद्धले पनि कोरोना जितेर घर फर्केको कुराले अत्यन्त खुशी बनाएको बताए ।

क्यान्सरको उपचार गराएर भारतबाट नेपाल फर्कने क्रममा उनिहरु कोरोना संक्रमित भएको बताइन्छ । वृद्धका छोरामा पनि संक्रमण पाइएको थियो । उनी पनि कोरोना जितेर कोरोना विशेष अस्पतालबाट घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार