
दाङ । खुकुरी प्रहारबाट दाङमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् ।
घाइते हुनेमा सोही ठाउँका अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् । शनिबार दिउँसो छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरेका थिए । उनको खुकुरी प्रहारबाट लामिछानेको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफूलाई देउता चढेको भन्दै स्थानीय माथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनिमाथि थप अनुसन्धान भइरहेको छ ।














