सैनिकको कुटपिटबाट मृत्यु भएका राजकुमारको परिवारलाई १० लाख राहत दिने घाेषणा


चितवन । चितवन राष्ट्रिय निकुञ्‍जकाे सुरक्षामा खटिएका सैनिकको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई राहत स्वरुप १० लाख दिने प्रतिबद्धता भएको छ । जिल्ला प्रशासन कार्यालय भएको छलफलमा निकुञ्जले ७ र राप्ती नगरपालिकाले ३ गरी १० लाख राहत दिने प्रतिबद्धता भएको हो ।

शुक्रबार राहत दिने सहमति भएपछि राजकुमारका बुवा शनिबार शव बुझ्न  काठमाडौं आएका छन् । राप्ती नगरपालिका २ पिप्ले मिलनटोलका राजकुमार चेपाङको सुरक्षामा खटिएका निकुञ्जका शैनिकको कुटपिटबाट साउन ७ गते मृत्यु भएको थियो ।

राजकुमारसहित मिलनटोलका ५ युवक र २ महिला गत साउन १ मा निकुञ्‍जको सिमाना राप्ती नदी तरेर निकुञ्‍जभित्र रहेको ज्युँडी खोला गएका थिए । खोलामा घोँगी र जंगलमा अमिलो टिप्ने योजना उनीहरुको थियो । उनीहरुलाई निकुञ्‍ज सुरक्षाका लागि खटिएका एक सैनिकले ज्युँडी खोलाबाट पक्राउ गरेका थिए । त्यसपछि कुटपिट गर्दै निकुञ्‍जको लिगलिगे पोस्ट पुर्‍याएका थिए ।

अरु भन्दा राजकुमारलाई धेरै चोटपटक लागेको थियो उनको उपचार गर्दा पनि ठिक नभई साउन ७ गते भरतपुर अस्पतालको आकस्मिक कक्षमा मृत्यु घोषणा गरिएको थियो ।

राजकुमारको शव पोष्टमाटमका लागि काठमाडौं ल्याइएको थियो । परिवारले क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान राखेका थिए । शुक्रबार राहत दिने सहमतिपछि परिवारले राजकुमारको शव बुझेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार