
काठमाडौं । अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भन्दै लाखौं ठगी गर्ने अमेरिकन नागरिक दानियल लि पक्राउ परेका छन् ।
दानियलले भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं- ६ घर भई हाल काठमाडौं महानगरपालीका-३२ कोटेश्वर बस्ने टुक नारायण श्रेष्ठको एटलस सेकुरिटी प्रालीलाई अमेरिकामा दर्ता गरिदिने भन्दै दश लाख ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
श्रेष्ठको कम्पनीलाई अमेरिकीमा दर्ता गरी पार्टनरसीप गर्ने भन्दै रकम लिएको प्रहरीले बताएको छ । दानियलले सुजन थापा र सन्दीप कार्की समेतलाई बिजनेस भिषामा अमेरिका लैजान्छु भन्दै जनही ५ लाख ठगी गरेको महानगरीय अपराध महाशाखले जानकारी दिएको छ ।
पर्यटक भिषामा नेपालमा रहेका ६५ वर्षीय दानियललाई ठगी गरेको उजुरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसिरहेको अवस्थामा काठमाण्डौ क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।










