अख्तियारको सहसचिव हुँ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन क्षत्री जेल चलान

काठमाडौँ । ‘ज्योतिष’ भनिने अर्जुन थापा क्षत्री जेल चलान भएका छन् । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै लाखौं ठगी गर्दै हिँडेको आरोपमा उनलाई शुक्रबार जेल चलान गरिएको हो ।

उनीसहित चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौँको आदेशले क्षत्रीसँगै राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पुर्पक्षको लागि जेल चलान गरिएको एसएसपी ज्ञवालीले बताए ।

उनकाअनुसार ज्योतिष क्षत्रीसँगै पक्राउ परेका विजय रावल, राजेश गुरुङ, शंकर खड्का र श्याम सिंह थापा जनही १/१ लाख र विवेक देवकोटा ५० हजार धरौटमा रिहा भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गाको बिषयमा आफुलाई अख्तियारको सहसचिव भन्दै लाखौं ठगी गरेका बेला गत असार २६ गते क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलाउँदै रुपैयाँ लिन जाँदा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

आफुलाई फेस रिडर ज्योतिष भन्दै काठमाडौंमा उनले जनमानसमा भ्रा फिजाउँदै आएका थिए । यसअघि पनि उनी नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार