
काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।
विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एकजनामा संक्रमण देखिएपछि भिसासम्बन्धी कमकाज बन्द गरिएको उनले बताए । संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी गरेर थप परीक्षण गरिने निर्देशक तिवारीले बताए ।
कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित भइरहेको छ ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । विभिन्न सरकारी कार्यालयहरुमा समेत संक्रमितहरु पाइएका छन् । जसका कारण उपत्यकामा कोरोना जोखिम बढ्दै गइरहेको छ ।
तर, लकडाउन खुलेपछि मानिसहरुले भौतिक दूरी, मास्क प्रयोग लगायतका सावधानी खासै नअपनाएको पाइएको छ । जसकारण संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ ।










