
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले नयाँ नियम लागु गर्न माग गरेका छन् । उनीहरुले कोरोना रोकथामका लागि तत्काल सार्वजनिक यातायात बन्द गनुका साथै अत्यावश्यकबाहेकका सेवा पनि बन्द गर्न सरकारलाई माग गरेका हुन् ।
सोमबार बसेको काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को बैठकले स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले सार्वजनिक यातायात सञ्चालनपछि जोखिम बढेको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै बैठकले अहिले सञ्चालनमा आएका कार्यालय, उद्योगधन्दा, कलकारखानाहरुले पनि स्वास्थ्यका मापदण्ड पालना गरेपछिमात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
काठमाडौंमा बाहिरबाट आएकाहरुबाटै धेरै संक्रमण फैलिएकाले उपत्यका प्रवेश गर्ने नाकाहरु अत्यन्त कडाइ गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत फोरमले जनाएको छ ।










