
बुटवल । बुटवलमा एक जना महिलाको मृत्यु संस्कारमा सहभागि भएकामध्ये ९० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । महिलाको करिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
गएको साउन १८ गते बुटवल उपमहानगरपालिका ११ कालिकानगरकी ४९ वर्षीया महिलाको भरतपुर क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको थियो । क्यान्सरकी बिरामी उनको उपचारकै क्रममा मृत्यु भएपछि परिवारले अस्पताललाई कोरोना परीक्षण गराउन भन्दा अस्पतालले हृदयघातले मृत्यु भएको भन्दै परिवारलाई शव जिम्मा लगाएकाे थियाे ।
परिवारले उनको अन्तिम संस्कार आफन्त बोलाएर सामान्य तरिकाले गरेका थिए । त्यसको केहीसमयपछि उनको देवरलाई कोरोनाको लक्षण देखिन थाल्यो । परीक्षण गराउँदा कोरोना पोजिटिभ देखियो ।
त्यसपछि ती महिलाको मलामी गएका र अरु नजिकमा आएकाहरुको कोरोना परीक्षण गराउँदा ९० प्रतिशतको पोजिटभ आएको अस्पतालले जनाएको छ । अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गरिएको छ ।
अझै ती संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी गरी स्वाब संकलन गर्ने कार्य भइरहेको बताइएको छ । उनका देवरलाई ती महिलाबाट सरेको हो कि, अन्त कतैबाट सरेको हो भन्ने अझै एकिन हुन सकेको छैन् । ती संक्रमितले गर्दा केहीसमय देखि कम देखिएको बुटलमा फेरि संक्रमण दर उकालो लागेको छ ।










