केही खुकुलो सहित रुपन्देहीमा भदौ २८ सम्म निषेधाज्ञा थपियो

बुटवल । रुपन्देहीमा भदौ २८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । उद्योगीहरुले लकडाउनको विरोध गर्ने चेतावनीपछि केही खुकुलो सहित निषेधाज्ञा थप गरिएको हो ।

शनिबार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

यसअघि भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएएको थियो । शुक्रबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले पनि लकडाउन खुकुलो बनाउन सिफारिस गरेको थियो ।

सोही अनुसार मुख्य राजमार्गबाहेक जिल्लाभर सार्वजनिक र निजी सवारी साधन सञ्चालन गर्न र सभा, सम्मेलन, प्रदर्शन आदि गर्न पाइने छैन । डिपार्टमेन्टल स्टोर, सपिङ मल, होटेल, रेष्टुराँ आदि पनि सञ्चालन गर्न पाइने छैन । तर खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका पसलहरु बिहान ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

त्यस्तै सरकारी कार्यालयहरु र बैंक तथा वित्तीय संस्थाहरुले भीडभाड नहुने गरी सुरक्षा मापदण्ड पालना गरी सेवा प्रवाह गर्न पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार