काठमाडौं । हृदयघात भएर नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा अझै सुधार हुन सकेको छैन् । चिकित्सकका अनुसार एन्जियोप्लास्टिपछिको ७२ घण्टासम्म पनि पारस खतराकै अवस्थामा रहेको बताइएको छ ।
सोमबार सवा चार बजेपतिर हृदयघात भएपछि पारसलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पु्र्याइएको थियो । अस्पताल ल्याएको १५ मिनेटमै कोरोनरी एनजिओप्लास्टी गरेर स्टेन्ट राख्न चिकित्सकहरु सफल भएका थिए ।
पासरको मुटुमा यो सँगै तेस्रो पटक स्टेन्ट राखिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पहिलो पटक सन् २०६४ मा नर्भिकमै र ०७२ सालमा थाइल्याण्डमा उनको मुटुमा स्टेन्ट राखिएको थियो । पारसको पहिलेदेखिकै कमजोर मुटु यस पटकदेखि अझै नाजुक भएको बताइएको छ ।