
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
आफ्नो गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नं १ को मतदान केन्द्रमा मतदान गरे लगत्तै संचारकर्मीलाई प्रतिकृया दिदैं प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका हुन् । बिहान ९ः५५ बजे मतदान गरेका देउवा आजै काठमाण्डौ आउने बताइएको छ ।
उनले चुनाव हुँदैन् भनेर जनतामा भ्रम छरिरहेका विपक्षी दलका नेताले पनि आज मतदान गरेको बताए । ‘चुनाव हुँदै हुँदैन् भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला नि, हामी झुट र भ्रमको राजनीति गर्दैनौं’, देउावले भने ।
गठबन्धनको सरकारले स्थानिय तहको चुनावको मिति घोषणा गरेदेखि नै विपक्षी पद नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनाव हुँदैन् भन्दै आएका थिए । उनले अन्तिम समयसम्म पनि सरकार चुनाव सार्ने खेलमा लागेको भन्दै सार्वजनिक अभिव्यक्ती दिइरहेका थिए । चुनाव सार्ने खेलमा स्वयम देउवा र माओवादी केन्द्रका प्रचण्ड लागि परेका छन् भन्दै आरोप लगाउँदै आएका थिए ।
एक सातादेखि सुदूरपश्चिममा रहेका देउवा आज कैलालीको धनगढीबाट हेलीकप्टरमार्फत मतदान केन्द्र पुगेका थिए । निर्वाचनका लागि तीन दिन डडेल्धुरामा रहेका देउवा बुधबार धनगढी गएका थिए ।
डडेल्धुरामा काँग्रेसबाट विद्रोह गरी छुट्टै उम्मेदवारी दिएको कर्ण मल्लको समुहले एमालेसंग चुनावी तालमेल गरेका कारण देउवा केहि तनावमा छन् । देउवाको गृहपालिका मै मल्ल समुहले एमालेसँग तालमेल गरी निर्वाचनमा भाग लिएको छ ।












