काठमाडौं । एनसेलले सरकारलाई तिर्नु पर्ने कर नतिरेको विषय चर्चामा आइरहेका बेला ऐनसेलको केन्द्रिय कार्यालयमा शक्तिशाली विष्फोट गरिएको छ । शुक्रबार साँझ ८ बजेतिर ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को गेटमा शक्तिशाली विष्फोट गरिएको हो ।
शक्तिशाली बम विष्फोटमा परि ३ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल रहेका छन् । सिंहप्रताप गुरुङको अवस्था भने गम्भीर छ । उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ ।
साथै अन्य दुई जनाको भने ललितपुरको बी एन्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । हाल घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरुको टोलीले अनुगमन गरिरहेको छ । विष्फोट कस्ले र किन गरेको हो भने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नख्खुमा विष्फोट भए लगत्तै कमलपोखरीको आँगन मिठाई पसल अगाडि पनि बम भेटिएको छ । उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ ।