
रुपन्देही । रुपन्देहीमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ल प्रहरी कार्यालय रुपन्देहीले जनाएअनुसार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारत ५ जनाको मृत्यु मध्ये ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा रौतहट का २० वर्षीय दिनेश दास, बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको रुपन्देही डिएसपी नवरत्न पौडेलले बताए । डिएसपी पौडेलका अनुसार मृतक अन्य चार जनाको पहिचान हुन बाँकी छ।
जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डको रोहिणी खोलाको पुलबाट आज बिहान साढे ४ बजे तल खसेको थियो । बसमा ३३ यात्रुमध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।











