‘धराने गोरु खाने’ विवादबारे सहमती, पूर्वसचिव भिम उपाध्यायले मागे माफी


काठमाडौं । नेपाल सरकारका पुर्व सचिव भीम उपाध्यायले लिखित माफी मागेपछि ‘गोरु खाने धराने’ विवाद साम्य भएको छ । ‘गोरु खाने धराने’ भन्दै पूर्व सचिव उपाध्यायले फेसबुकमा लेख्दै चितवनकी पूर्णिमाया गुरुङको फोटो पोष्ट गरेकाप्रति लिखित माफी मागेपछि विवाद साम्य भएको हो ।

पीडित महिला र उपाध्यायसहित गुरुङ समुदायका संघ संस्थाका पदाधिकारीको उपस्थितीमा आज काठमाडौंमा भएको छलफलमा पूर्व सचिव उपाध्यायले लिखित माफी मागेको र पीडित गुरुङले माफी दिएकाले उत्पन्न विवाद समाधान भएको गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङले अनमोलपोस्टलाई जानकारी दिए ।

सहमती पत्रमा पूर्व सचिव उपाध्यायले आगामी दिनमा यस्ता किसिमका घटना नदोहोर्याउने प्रतिवद्धतासमेत गरेकाले घटनालाई लिएर गुरुङ समुदायले गर्ने सबै आन्दोलनका कार्यक्रम पनि स्थगित भएको अध्यक्ष गुरुङले बताए । सहमतीअनुसार पुर्णिमायाले प्रहरीमा दिएको उजुरी पनि फिर्ता हुनेछ ।

केहि दिनअघि चितवनकी पूर्णिमाया गुरुङको राँगाको खुट्टा खाँदै गरेको फोटो पोष्ट गर्दै पूर्व सचिव उपाध्यायले ‘गोरु खाने धराने’ भनेर फेसबुकमा पोष्ट गरेका थिए । पीडित पूर्णिमायाले आफु दुई बर्षअघि माइती गएको बेला राँगाको खुट्टा खाएको भिडियो रमाइलोका लागि टिकटकमा राखेको र सोहि भिडियोबाट फोटो काटेर फेसबुकका पोष्ट गर्दै चरित्र हत्या गरेको भन्दै पूर्व सचिव उपाध्यायविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी दिनुअघि आफुले लगातार चार पाँच दिनसम्म फेसबुक, फोनमार्फत उक्त फोटोको वास्तविकता बताउँदै हटाईदिन आग्रह गर्दा पनि नमानेपछि उजुरी दिएको उनले संचारमाध्यममा बताएकी थिइन् । फोटो हटाउन फेसबुक म्यासेन्जरमार्फत गरिएको आग्रह आफुले हेर्न नभ्याएका कारण त्यस्तो हुन गएको बताएका थिए ।

उजुरीपछि गुरुङ समुदायले उपाध्यायलाइृ पक्राउ गरि कानुनअनुसार कारवाही गर्न दवाव दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । यसैबीच, दुबै पक्ष छलफलमा बसेर सहमती भएको छ । उपाध्यायले आफूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले पूर्णिमायाको व्यक्तिगत जीवनमा परेको आघातप्रति माफी माग्दै यस्ता घटना नदाहोर्याउने प्रतिवद्धता गरेपछि पूर्णिमायाले माफी दिएको तमू ह्यला छोंज धिँ गुरुङ राष्ट्रिय परिषद चितवनले जनाएको छ ।

लिखित माफीको पत्र पनि पढौं

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार