रास्वपाको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक बस्दैछ । आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा संयुक्त बैठक बस्न लागेको हो। बैठकमा संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल हुने महामन्त्री मुकुल ढकालले बताएकाछन्।

संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए । यो निर्णयबाट जन्मकैदको सजायँ पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल लगायतले उन्मुक्ति पाएका थिए । उनको रिहाईबारे पीडित परिवार लगायत अन्यले विरोध गरिरहेका छन् । यसबारे रास्वपाले आज बस्ने बैठकमा छलफल गर्ने तय गरेको छ ।

यस्तै जनताको आवाज सुन्न भन्दै रास्वपाले १९ जिल्लामा खटाएका आफ्ना नेताहरुको ब्रिफिङबारे पनि आज बस्ने बैठकमा छलफल हुने महामन्त्री ढकालले बताए। जनताको आवाज सुन्ने भन्दै रास्वपाले असोज ३ गतेदेखि सभापति रवि लामिछानेसहित १९ नेतालाई १९ जिल्लामा खटाएको छ ।

यसैबीच, डोटीमा रहेकी रास्वपा नेत्री एवम् सांसद तोसिमा कार्की विवादित बनेकी छन् । उनले डोटीमा दलित समुदायको हातबाट पानी खाएको भिडियो यतिबेला आलोचित बन्दै भाइरल बनेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार