काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली (एनआरएनए) लाई सरकारको अवैतनिक राजदूतको संज्ञा दिएका छन्।
आजदेखि काठमाडौंमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले विदेशमा रहेर नेपाललाई चिनाउनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै (एनआरएनए) लाई सरकारको अवैतनिक राजदूतको संज्ञा दिएका हुन् ।
उनले एनआरएनएसँग थप हातेमालो गर्ने सरकारको चाहाना रहेको समेत बताए । मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए ।
उनले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गरे ।
मन्त्री साउदले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन अझै शसक्त भूमिका खेल्न एनआरएनएलाई आग्रह पनि गरे । उनले संघमा महिला, युवा र दोस्रो पुस्ताका एनआरएनएलाई समेट्दै दायरा फराकिलो बनाउन आग्रह गरे ।