सुन तस्करीबारे गठन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड

गिरोहले जम्मा १३८ केजी सुन ल्याएको

काठमाडौं । सुन तस्करीबारे सरकारले गठन गरेको अनुसंन्धान टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सीसीटीभी रेकर्ड नभेटेको पाइएको छ । सुन तस्करबारे अनुसंन्धान गर्न भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वमा गठन भएको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नभेटेको पाइएको हो ।

समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो ३ महिनाको सीसीटीभी रेकर्ड माग गरे पनि भेट्न नसकेको अधिकृत पौडेलले बताए । उनकाअनुसार सीसीटीभी रेर्कडको ब्याकअपको सीमितता भन्दै जम्मा २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको छ ।

भन्सार कार्यालयले मंसिर २२ गते बिहीबार राति फ्लाइ दुबईबाट आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । उक्त सुन तस्करीमा गोरखाका मीनबहादुर घलेको नाम पनि जोडिएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेर अनुसंन्धान गरिरहेको छ ।

सुन तस्करीको अनुसंन्धान गर्न गठित समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टीभी फुजेट पनि मागेको तर त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी पाइएको अनुसंन्धान टोलीको प्रतिवेदनमा उल्लेख छ।

तर, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लेकबहादुर तामाङले भीआईपी कक्ष हुँदै माथिल्लो तलाको शौचालयमा गएर राधाकृष्ण श्रेष्ठलाई ‘सामान’ बुझाउने गरेको बयान दिएका थिए ।

प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार, १४ किलो सुन दूबईबाट अंकित अग्रवाल नामक व्यक्तिले मिनबहादुरलाई पठाएका थिए। यसरी मिनबहादुर घले, चन्द्र घले र कृष्णकुमरा श्रेष्ठले पटक पटक दूबईबाट सुन लिएर आउने गरेको अनुसंन्धानमा पाइएको छ।

यसरी पटक पटक गरेर यो गिरोहले जम्मा १३८ केजी सुन ल्याएको समितिका संयोजक पौडेलले बताए ।
बरामद गरिएको १४ किलो सुन तस्करमा संलग्नहरुविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले बताए । १४ किलो सुनसहित पक्राउ परेका गोरखाका घलेसहित हालसम्म ९ जना पक्राउ परेका छन् । उनीहरू सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने गरि काम भइरहेको प्रमुख पाण्डेले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार