पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स मात्रै झण्डै ३ अर्ब


काठमाडौँ । काठमाडौंस्थित प्रख्यात पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स झण्डै ३ अर्ब रहेको छ ।
आज प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको जानकारी दिएका हुन्।

सदस्यसचिव खत्रीका अनुसार चल्ती र बचत खातामा ४१ करोड रुपैयाँ रहेको छ भने अक्षयकोष तथा मुद्धति खातामा २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै पशुपतिको जग्गा प्रयोग गरेको भाडाबापत १ करोड रुपैयाँ वार्षिक भाडा आउने पनि उनले जानकारी गराए । यस्तै तारागाँउ विकास समितिले ६ रोपनि जग्गा भाडामा लिएबापत पशुपति मन्दिरलाई वार्षिक ४९ हजार दिने गरेको उनले बताए ।

त्यस्तै पशुपति मन्दिर घुम्न आउने विदेशी पर्यटकबाट दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म भेटी संकलन हुने गरेको सदस्यसचिव खत्रीले जानकारी दिए । मन्दिरमा दैनिक भेटी संकलन गर्नका लागि विभिन्न ९ वटा घ्याम्पा राखिएको र हरेक दिन गनेर बैंकमा जम्मा गर्ने गरिएको उनले जानकारी दिए ।

सदस्यसचिव खत्रीकाअनुसार मन्दिरको दैनिक भेटी र पशुपति क्षेत्रभित्र रहेका सटरहरुबाट उठ्ने भाडा नै आम्दानीको प्रमुख स्रोत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार