काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । आज संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका हुन् ।
उनले कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि सरकार गम्भीर रहेको बताए ।
गृहमन्त्री लेखकले कारागार र बाल सुधार गृहमा भौतिक संरचनाको अभाव देखिएकाले त्यसबारे सरकारले ध्यान दिने समेत बताए ।
कैदीबन्दीको स्वास्थ्य बीमा र सीपको व्यवस्थाका साथै मनोपरामर्श कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकको भनाई छ। कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशअनुसार अगाडि बढ्ने पनि उनले बताए ।
कारागार र बालसुधार गृहको अवस्था सुधार्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए।
जबरजस्तीकरणी र लागू औषधसम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने पनि गृहमन्त्री लेखकले बैठकमा प्रतिवद्धता जनाएका छन् ।