काठमाडौं । महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि आतंक मच्चियो ।
रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।
तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।
‘मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ’, पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनले आफूले मजाकका लागि घोचेको बताएका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन्, ‘उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् ।’ प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।
त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका थियो । हाल उनलाई महानगरीय प्रहरी परिसर, टेकुको हरासतमा राखिएको छ ।
काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदी भन्छन्, ‘हिजो राति पक्राउ गरेर ल्यायौं । अब विस्तृत बयान र अनुसन्धान सुरु हुन्छ ।’ कार्कीको महाराजगञ्जमा रेष्टुरेन्ट व्यवसाय छ । उनी केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।
दिउँसो ११ बजे पत्रकार सम्मेलन गरेर कार्कीलाई सार्वजनिक गरिने काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।
अनलाइनखबरबाट









