नेपाल भ्रमण वर्ष २०२० को केहिबेरमा भव्य उद्घाटन हुँदै, सवारीसाधनलाई ट्राफिकको यस्तो अनुरोध ?


काठमाडौँ । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज केहिबेरमा भव्य उद्घाटन हुँदैछ ।

उद्घाटनका लागि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला खुब सजाइएको छ । उद्घाटनका लागि हिजै रिहल्सन गरिसकिएको छ । नयांबर्ष सन् २०२० को पहिलो दिनको अवसरमा भ्रमण बर्षको भव्य रुपले सरकारले औपचारिक शुभारम्भ गर्न लागेको हो ।

नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण बर्ष २०२० को शुभारम्भ गर्न लागेको हो । भ्रमण बर्ष सफल पार्नका लागि विशेषगरी पर्यटन मन्त्रालय, मन्त्री योगेश भट्टराईले निकै मेहनत गरिरहेको देखिन्छ ।

भ्रमण बर्षको उद्घाटन समारोहमा भाग लिन विभन्न देशमा पर्यटनमन्त्रीहरु हिजै नेपाल आइसकेका छन् ।

उद्घाटन समारोह

नेपाल भ्रमण बर्षको भव्य उद्घाटन आज अपराह्न ४ बजेदेखि शुरु हुनेछ । उद्घाटन समारोहको औपचारिक कार्यक्रम करिब पाँच घण्टासम्म चल्ने बताइएको छ ।

कार्यक्रममा सहभागी पाहुनाहरुको स्वागत नेपालका चर्चित सेलिब्रेटीबाट गरिनेछ । त्यसैगरी उद्घाटन कार्यक्रममा नेपालको संस्कृति झल्कने विभिन्न नाचगानहरु प्रस्तुत हुनेछ । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । त्यसपछि नेपाली लोक संगीतमा परिचय कुटुम्ब ब्याण्डले आफ्नो साङ्गीतिक प्रस्तुति दिनेछ ।

कार्यक्रम तालिका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने छ ।

ट्राफिकको अनुरोध
भ्रमण बर्षको उद्घाटन समारोहलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न स्थानका सडक प्रयोग नगरेर वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

दिउँसोको समयमा ठमेलबाट र्‍यालि निस्केर रंगशाला सम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार