
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन् ।
शनिवार सिंहदरबारस्थित एक्सन रुमबाटै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा सातवटै मुख्यमन्त्रीहरुसंग पालैपालो छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
छलफलमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशमा कोरोना नियन्त्रण, उपचार र सावधानीका बिषयमा भइरहेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्रीसंगको भिडियो छलफलमा मुख्यमन्त्रीहरुले स्थानिय र प्रदेश सरकारले अहिले विशेषगरी कोरोना चेकजाँच, क्वारेन्टाइन र उपचारको कार्यमा ध्यान दिइरहेको र अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका थिए ।
कतिपय प्रदेशका सीमा क्षेत्रमा आवाज जावत नरोकिएकाले त्यसबारे कडाई गरिएको समेत छलफलमा मुख्यमन्त्रीहरुले बताएका थिए ।
प्रधानमन्त्री संगको भिडियो छलफलमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङ, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मेख्यमन्त्री त्रिलोचन भट्टले पालैपाले स्थानिय र प्रदेश सरकारले कोरोनाबारे गरेका कामको जानकारी दिएका थिए ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये ४ जना सुदूरपश्चिममा देखिएका छन् । उनिहरुको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
यो भिडियो सामाग्री पनि हेर्नुहोस










