
काठमाडौं । सञ्चारकर्मी रुपा सुनारलाई जातीय कारण देखाउँदै कोठा नदिने काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई थुनामुक्त गराउने संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) ले माग गरेको छ ।
जातीय विभेद जस्तो गम्भिर अपराधको आरोपी प्रधानमाथि अनुसंन्धान भइरहेका बेला मन्त्री श्रेष्ठले पद र पदिय मर्यादा बिर्सेर विभेदलाई दवाउन खोजेकाले उनलाई मन्त्री पदबाट पर्खास्त गरि कारवाही गर्नुपर्ने वाइसिएलको माग छ ।
शनिवार वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा पनि राजधानी काठमाडौंमा नै जातको आधारमा कोठा नपाएकी सञ्चारकर्मी रुपा सुनारमाथि भएको विभेद प्रकरणमा पक्राउ परेकी घरधनी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले ढाकछोप गरि भोट बैंकको रुपमा लिएर छुटाउने प्रयत्न गरेको आरोप लगाएको छ ।
‘छुवाछुत तथा भेदभाव जस्तो जघन्य अपराध र अपराधकर्ममा संलग्नलाई भोट बैंकको रुपमा लिएर मन्त्री श्रेष्ठले गरेको हर्कत अत्यन्तै निन्दनीय र आधुनिक मानव सभ्यताविरुद्ध रहेकाले उनलाई तत्काल मन्त्रिपरिषद् सदस्यबाट बर्खास्त गर्न प्रधानमन्त्री समक्ष हाम्रो संगठन जोडदार माग गर्दछ’, विज्ञप्तीमा उल्लेखमा छ ।
जातीय भेदभाव जस्तो गम्भीर अपराधको आरोप लागेकी घरबेटीलाई शक्ति र सत्ताको दुरुपयोग गरि छुटाउन जानुले सिँगो दलित समूदायको आत्मसम्मानमा चोट पुग्नुका साथै सरकार नै दलित समुदायप्रति गैरजिम्मेवार बनेको वाइसीएलको ठहर छ ।
छुवाछूत तथा जातीय भेदभाव कथित दलित समूदायको मात्रै समस्या नभएर सिंगो राष्ट्र र मानव जातिको कलङ्क भएको विज्ञप्तिमा भनिएको छ । उसले जातीय भेदभावविरुद्ध लड्नका लागि सबैपक्षसंग अपिल समेत गरेको छ ।
‘छुवाछुत तथा भेदभाव कथित दलित समूदायको मात्रै समस्या नभएर यो सिंगो राष्ट्र र मानव जातिको कलङ्क हो । यसर्थ छुवाछुत तथा भेदभावविरुद्ध नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्था, सरोकारवाला निकाय, पत्रकार जगत र सम्पूर्ण न्यायप्रेमी जनतामा एकताबद्ध संघर्षका लागि हार्दिक अपिल गर्दछौं’, वाइसिएलद्धारा जारी विज्ञप्तीमा भनिएको छ।
जारी विज्ञप्ती













