
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच तत्काल एकता नहुने एक केन्द्रिय नेताले प्रष्ट पारेका छन् ।
दुबै पार्टीबीच एकताका लागि छलफल भइरहेको भएपनि तत्काल भइहाल्ने संभावना नरहेको समाजवादी पार्टीका केन्द्रिय सदस्य खगेन्द्र माखिमले अनमोलपोस्टलाई बताए ।
“तत्काल पार्टी एकता भन्दा पनि सरकारले जारी गरेको अध्यादेशका बिषयमा अहिले प्रमुख प्रतिपक्ष काँग्रेस लगायत हामीहरुबीच गम्भिर रुपले छलफल भइरहेको छ । राजपासंग भोली एकता हुने कुरा सत्य होइन, एकता हुन्छ तर त्यसका लागि हामी छलफल मै छौ”, नेता माखिमले भने ।
सरकारद्धारा पार्टी विभाजनबारेको अध्यादेश जारी भएपछि प्रतिपक्ष दलहरु छलफलमा रहेका बेला समाजवादी र राजपाबीच भोली एकता हुने खबरहरु बाहिर आएका थिए ।
राजनीतिक दल विभाजनसहित दुईवटा अध्यादेश सरकारले मंगलबार जारी गरेपछि त्यसको विपक्षी दलहरुद्धारा चर्को बिरोध भइरहेको छ ।
अध्यादेशका बारेमा छलफल गर्न आज (बुधबार) काँग्रेसको नेतृत्वमा समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच छलफल समेत भएको छ । छलफलले सरकारलाई अध्यादेश फिर्ता लिन मागसहित ६ बुँदे निर्णय पनि गरेको छ ।











