
उदयपुर । एउटै ठाउँमा २८ जनामा कोरोना पुष्टि भएपछि उदयपुरको भुल्केमा कोरोनाको त्रास बढेको छ । आशंका गरिएका व्यक्तिकाे कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आउन थालेपछि स्थानीयमा त्रास बढेको हो ।
यसै त्रासकाबीच स्थानीय सरकारले थप परीक्षणको तयारी गरिरहेको छ । जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार अहिले त्यहाँ दुई हजार १ सयको पिसिआर विधिबाट कोरोना जाँच गरिने तयारी भइरहेको छ ।
किट अभावका कारण परीक्षण केहीदिन रोकीएको त्यहाँ आज साँझ किट पुग्ने र भोलीबाट परीक्षण सुरु गरिने मेयर चौधरीले बताएका छन् । सुरुमा बढी आशंका गरीका दुई सय ५ जनाको परीक्षण गरिने र त्यसको नजिता आएपछि थप दुई हजार १ सयको परीक्षण गरिने तयारी भइरहेको छ ।
त्यस्तै संक्रमति भेटिएको ठाउँका स्थानीय चिसा पसल, तरकारी पसलमा समेत पुगेको हुनसक्ने भएकाले जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यक्तिहरुको पनि परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।
२८ जनामा कोरोना संक्रमण देखिएको भुल्के क्षेत्र गाईघाट बजारबाट ३ किलोमिटर दूरीमा पर्छ। यसकारण पनि संक्रमितहरू गाईघाट बजार आवतजावत गरेको बुझिएको छ। संक्रमति मध्ये १२ जना भुल्केकै स्थानीय हुन् भने बाँकीं १६ जना केही भारतीय र केही नेपाली हुन् ।
भुल्केका संक्रमित २८ जनाको अहिले विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।
संक्रमित भेटिएको ठाउँ भुल्के क्षेत्र सिल गरिएको छ । स्थानीय बासीका लागि आवश्यक खाद्यन्न लगाएतका सामाग्रीहरु भने नगरपालिका आफैले घर घरमा वितरण गरिरहेको छ ।









