भुल्केको मुहार झल्काउन प्रयासरत मेयर भन्छन्ः ‘अवस्था डरलाग्दो छैन्,


काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान भुल्के मै केन्द्रित भएको छ । स्थानीय, प्रदेश र संघिय संरकारले पनि भूल्केलाई केन्द्रित बनाएर कोरोना नियन्त्रण तथा रोकथामका काम गरिरहेको छ ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार भुल्के अहिले पुरै सिल गरिएको छ भने सम्पुर्ण नाकाहरु पनि बन्द गरिएका छन् ।
“संक्रमण समुदायमा देखिएपछि हामीले भुल्केलाई सिल गरेका छौं मेयर चौधरीले भने, बाहिर हल्ला भएजस्तो भुल्केको अवस्था डरलाग्दो छैन, हामीले नाकाहरु पनि बन्द नै राखेका छौं ।”

मेयर चौधरी आफुहरुले निरन्तर भुल्केमा जाने गरेको र स्थानीयसँग अन्तरक्रिया गर्ने गरेको अनमोलपोस्टसंगको बिशेष कुराकानीमा बताए । भुल्केको अवस्था बिस्तारै सहज बन्दै गएको उनको भनाई छ । नगरपालिकाले त्यहाँका समस्यालाई मध्यनजगर गर्दै आवश्यक व्यवस्था गरेको मेयर चौधरीले बताए ।

भुल्केको मुहार झल्काउने प्रयास
एउटै गाउँमा २८ जना कोरोना संक्रमित भेटिएपछि सिंगो देशको ध्यान भुल्केले तान्यो । संक्रमण थप फैलिन नदिन स्थानिय सरकारले तत्काल आवश्यक कदम चालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भुल्के पुरै गाउँ सिल गरेर अहिले सबैको कोरोना जाँच कार्य जारी छ ।

लकडाउनका बीच थप गाउँ नै सिल भएपछि गाउँलेका आधारभुत आवश्यकताहरुलाई मध्यनजर गर्दै स्थानिय सरकारले खाद्यान्न लगायतका सहयोग गरिरहेको छ ।

“गाउँ सिल गरिसकेपछि हामीले त्यहाँका ४ सय परिवारलाई पुग्ने गरी खाद्यन्नको व्यवस्था गरेका छौं, त्यस्तै कसैको स्वास्थ्यमा समस्या भयो भने तत्काल उद्दारका लागि ४ वटा एम्बुलेन्स तयारी अवस्था राखेका छौं,” मयेर चौधरीले अनमोलपोस्टसंग भने ।

सक्रमण फैलिनुको कारण र परीक्षणमा तिर्वता
भुल्केमा फैलिएको संक्रमणबारे विभन्न आशंकाहरु गरिएको थियो । धेरैको अनुमान भारतबाट आएर मस्जिदमा बसेका जमाती समुहले भुल्केमा संक्रमण फैलाएको भन्ने थियो । तर उक्त अनुमान गलत सावित भएको छ ।

मेयर चौधरीका अनुसार भारतीय जमातीबाट कोरोना संक्रमण फैलिएको नभई दुबई र भारतमा पढ्न गएका नेपाली विद्यार्थीबाट फैलिएको पत्ता लागेको छ । दुबई र भारतबाट फर्केका बिधार्थीमा संक्रमण भेटिएसंगै उनका परिवारका सदस्यमा पनि संक्रमण देखिएपछि संक्रमण फैलिनुको कारण पत्ता लागेको मेयर चौधरीले बताए ।

कोरोनाको आशंकामा नगरपालिकाका वडा ३, ५, ६ र १२ का स्थानीयबासी, चिया पसले र औषधी पसल सञ्चालकहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन समेत गरिएको उनले जानकारी दिए ।

भुल्केमा कोरोना फैलिएकोबारे मेयर चौधरीले भने, “हामीले रुट पत्ता लगाई सकेका छौं, बाहिर जुन तरीकाले हल्ला सुनिएको छ, त्यस्तो अवस्था भुल्केमा छैन् । जनजिवन सामान्य नै छ ।”

मेयर चौधरीले अबको १४ दिनमा फेरी संक्रमित देखिएको समुदायका स्थानीय सबैको स्वाब परीक्षण गरेर अवस्था सामान्य बनाउने तयारी भइरहेको बताए । अहिलेको अवस्थामा स्थानियमा थप त्रास नफैलियोस र संक्रमितलाई हौसला भनेर प्रदेश सरकारका मन्त्रीहरु, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु बेला बेला भुल्केमै पुगेर स्थानियलाई सहयोग गरिएका छन् ।

भल्केमा समुदायस्तरमा देखिएको कोरोना संक्रमण एउटा गाउँको मात्रै समस्या नभएर सिंगो देशको समस्या भएको भन्दै मेयर चौधरीले कोरोनाविरुद्धको लडाई जित्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अझै समन्वय गरेर जानुपर्ने बताएका छन् । उनले अहिलेको आवश्यकता समन्वय भएकाले सबैलाई हातेमालो गरेर कोरोना रोकथाममा सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

त्यस्तै मेयर चौधरीले सञ्चारमाध्यमलाई पनि सत्यतथ्य खबरहरु सम्प्रेषण गर्नहुन अनुरोध गरेका छन् । समाजलाई भयवित बनाउनु भन्दा पनि कोरोनाबारे सचेतना फैलाउनु सबैको दायित्व भएको मेयर चौधरीको भनाई छ ।

संक्रमणपछि अस्पतालमा उपचाररत जमातीहरु कहाँ -कहाँ गएका थिए भन्ने बारेमा अहिले पनि उनीहरुसँग समन्वय भइरहेकाले चाडैं अरुको पनि परीक्षण गरिने उनले बताए । साथै संक्रमितहरु चाडैं निको भएर आस्पतालबाट डिस्चार्ज हुनेमा पनि उनले विश्वास व्यक्त गरे।
संक्रमण नफैलियोस भन्नका लागि लकडाउनमा कोहि पनि कतै जान नदिनका लागि नगरपालिका क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन समेत गरिएको मेयर चोधरीले जानकारी दिएका छन् ।

जमातीले कोरोना फैलाएको हल्ला गलत
भुल्केमा एकैचोटी ठुलो संख्यामा संक्रमित भेटिएपछि संक्रमण फैलाएको आरोप भारतबाट आएका जमाती समुहमाथि लाग्दै आएको थियो । तर, त्यो गलत सावित भएको छ ।

“अहिले जसरी जमातीले कारोना फैलायो भन्ने हल्ला छ, यो कुरा सत्य होइन मेयर चौधरीले भने, जमातीहरु चैत्र १० गते नेपाल आएर लकडाउनमा परेकाले उनीहरु कतै पनि गएका छैनन् ।”

भारतको दिल्लीमा केहि समयअघि सम्पन्न जमातीहरुको भेलामा सहभागी भएर फर्केकाहरुले नै भुल्केमा कोरोना फैलायो भन्ने हल्ला थियो । दिल्ली लगायतका ठाउँमा कोरोना फैलिनुको कारण समातीहरुको भेला हो भन्दै भारतिय संचारमाध्यमले भनिरहेका बेला त्यसको असर नेपालमा पनि परेको थियो ।

“अहिले मुस्लिम समुदायको रमजान चलिरहेको छ । लकडाउनको समय भएकाले हामीले सबै धर्मको सम्मान गर्दै उनीहरुलाई घरमै रमजान बनाउन आग्रह गरिएको छौं । नगरपालिकाले विज्ञप्ति पनि जारी गर्दै घरमै रमजान बनाउन अनुरोध गरिए छ”, मेयर चौधरीले भने ।

मानव जाति नै संकटमा परेका बेला एकले अर्काको विरोध गर्नु भन्दा पनि आफु र अरुलाई बचाउनु नै मानविय दायित्व भएको मेयर चौधरीको भनाई छ । कोरोना विरुद्ध लड्ने एउटै हतियार लकडाउन भएकाले सरकारले भनेका कुराहरु सबै नेपालीले पालना गर्दै घरमै बस्न उनले सबैलाई आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार